देवराज यादव  // सुनसरी — सुनसरीको देवानगंज गाउँपालिका–३ खत्वै टोलस्थित नहर नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

शुक्रबार राति करिब ९ बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले चेकजाँचका क्रममा ६० किलो गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार देवानगंजबाट कप्तानगंजतर्फ जाँदै गरेको एक मोटरसाइकलमा गाँजा ओसारिँदै थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक भने सवारीसाधनसहित फरार भएका थिए।

घटनास्थलमा फालिएको दुईवटा सेतो बोरामध्ये एउटामा रातो प्लास्टिकले बेरिएको तीन पोका गाँजा र अर्कोमा खुला रूपमा सेतो प्लास्टिकमा राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ।

बरामद गाँजाको तौल ६० किलो रहेको छ। बोराहरू आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ भने फरार मोटरसाइकल चालक र तस्करको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार यो घटनाले सीमा क्षेत्र हुँदै लागुऔषध तस्करी गर्ने गिरोह अझै सक्रिय रहेको सङ्केत गरेको छ। प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ।