राजन कुमार बानियाँ / पर्सा — पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मसियानीस्थित गण्डक नहरमा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ।

मृत्यु हुने बालकको परिचय बारा जिल्लाको फेटा गाउँपालिका अन्तर्गत बतरा गाउँ निवासी दिनेश मुखिया बिनका छोरा प्रधुमन मुखिया बिनको रूपमा खुलेको छ।

प्रधुमन आफ्ना मामा सुदामा मुखिया बिनको घर मसियानीमा पाहुना आएका थिए। शनिबार दिउँसो मसियानी चौक नजिकैको गण्डक नहरमा डुबेर उनको मृत्यु भएको हो।

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय जानकिटोला र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बालकको शवलाई उद्धार गरी पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

नहरमा डुबेर भएको यस दुखद घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।