पर्सा, साउन १० – पटेर्वा सुगौली गाउँपालिका–२ स्थित गादी स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको अत्याधुनिक सुविधासम्पन्न दुई तले प्रसुति केन्द्रको आज शनिबार बिहान एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरीले नव निर्मित भवनको समुद्घाटन गर्नुभयो।

समारोहमा वडाध्यक्ष, पालिकाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, पत्रकार लगायत विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय तहमै सुरक्षित मातृ सेवा

वडा नं. ४ का अध्यक्ष बासु पजियार थारुले मन्तव्य दिँदै अब वीरगंज नगई आफ्नै पालिकामै सुरक्षित प्रसुति सेवा लिन सकिने बताए। विशेष गरी अति विपन्न परिवारका लागि यो सेवा सहज र पहुँचयोग्य हुने विश्वास व्यक्त गर्दै उनले भने, “विकासका कामहरु जनताको हितका लागि निरन्तर भइरहेका छन्।”

महिलाहरूका लागि ठूलो उपलब्धि – उपाध्यक्ष ममता महतो 

उपाध्यक्ष ममता महतोले प्रसुति केन्द्र उद्घाटन समारोहमा मन्तव्य राख्दै यो सेवा विशेष गरी महिलाहरूका लागि ठूलो उपलब्धि भएको बताइन्। सस्तो दरमा एम्बुलेन्स सेवा, २४ घण्टा सेवा सुविधा तथा अन्य मातृ–शिशु सेवाहरू उपलब्ध हुने उल्लेख गर्दै उनले पालिकामा भइरहेका विविध विकासका प्रयासहरूको जानकारी दिइन्।

‘अब वीरगंज जानु पर्दैन’ – अध्यक्ष दिनेश चौधरी 

पालिका अध्यक्ष दिनेश चौधरीले प्रसुति केन्द्रको समुद्घाटन गर्दै यसबाट महिलाहरूले सुरक्षित र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। “अब वीरगंज धाउनुपर्ने बाध्यता हटेको छ। वडा नं. २ मा सञ्चालनमा आएको यो प्रसुति केन्द्र सम्पूर्ण पालिकाका बासिन्दाका लागि राहत हो,” उनले भने। उनले पालिका भवनको उद्घाटन कार्तिक महिनामा हुने जानकारी दिँदै, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा विकासको गति तीव्र रहेको बताए।

७३ लाखमा पहिलो तला, ३२ लाखमा दोस्रो तला

२०७९/८० मा संघीय सरकारबाट प्राप्त ७३ लाख रुपैयाँको अनुदानमा प्रसुति केन्द्रको पहिलो तला निर्माण सम्पन्न भएको थियो भने २०८०/८१ मा गाउँपालिकाबाट प्राप्त ३२ लाख रुपैयाँको बजेटमा दोस्रो तला निर्माण गरिएको हो।

सुविधासम्पन्न सेवा, निःशुल्क उपचार

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विजय गैरेका अनुसार गादीमा स्थापित प्रसुति केन्द्र पर्सा जिल्लामै सुविधायुक्त र फरक स्वरूपको रहेको छ। “अप्रेशन त छैन, तर अनुभवी चिकित्सक, नवजात शिशुका लागि आवश्यक उपकरण, चेकजाँच र औषधि निःशुल्क उपलब्ध छन्,” उनले भने।

भोलिको दिनको आशा र प्रतिबद्धता

कार्यक्रममा वडाध्यक्ष विजय गैरे, वडा नं. १ का अध्यक्ष फरमान अन्सारी, वडा नं. ४ का अध्यक्ष बासु पजियार थारु, कार्यपालिका सदस्यहरू, बुद्धिजीवी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

समारोहमा अतिथिहरुले ‘एक गाउँ, एक उद्यम’ अभियानमा पालिका सक्रिय रहेको, महिला डाक्टर व्यवस्थापनको प्रक्रिया अगाडि बढेको तथा स्वास्थ्य क्षेत्रमा थप सुधारको प्रतिवद्धता जनाएका थिए।

सुरक्षित मातृत्वका लागि अब गादीमै सेवा

नव उद्घाटित केन्द्रबाट गर्भवती महिलाहरूले सुरक्षित प्रसुति सेवा, नियमित स्वास्थ्य जाँच, आपतकालीन सेवा तथा नवजात शिशु हेरचाह सेवा सुलभ रूपमा प्राप्त गर्नेछन्।