पर्सा // भारतसँग सिमाना जोडिएका पर्सा जिल्लाका अमरपट्टी र प्रसौनी नाका अहिले अवैध चल्ला तथा राँगा तस्करीको ‘हब’ बनेका छन्। प्रतिबन्धित सामग्री रातारात सीमाबाट भित्र्याउने कार्य स्वयं प्रहरी र सशस्त्र प्रहरी बलकै संरक्षणमा भइरहेको स्थानीयको गुनासो छ। तस्कर र सुरक्षाकर्मीबीचको साँठगाँठका कारण राज्यलाई आर्थिक क्षति पुगेको मात्र होइन, पशुजन्य रोगहरूको जोखिम समेत तीव्र रूपमा बढ्दै गएको छ।

नेपाल सरकारले भारतबाट जीवित चल्ला र कुखुरा भित्र्याउन पूर्ण प्रतिबन्ध लगाएको भए पनि अमरपट्टी नाकाबाट यस्ता सामग्रीको तस्करी खुलेआम भइरहको छ। स्थानीय स्रोतका अनुसार संदीप चौरसिया र सरूप साह नामक व्यक्ति यस सञ्जालका मुख्य तस्कर हुन्। उनीहरूले भारतको अमरपट्टी, झौवा र मधवल नाकाबाट दर्जनौं मोटरसाइकल प्रयोग गरी रातको समयमा चल्ला नेपाल भित्र्याउने गर्छन्।

स्थानीयहरूले आरोप लगाएका छन् कि चौरसिया र साहले अमरपट्टी प्रहरी चौकी र त्यहाँ रहेको सशस्त्र प्रहरी पोस्टका इन्चार्जहरूलाई नियमित रूपमा नजराना बुझाउने गरेका छन्। यही कारण, तस्करी नियन्त्रण गर्नुको सट्टा त्यसलाई संरक्षण गरिँदै आएको छ भन्ने जनगुनासो छ।

यस्तै, प्रसौनी नाकाबाट पनि ठूलो मात्रामा राँगाको चोरी पैठारी भइरहेको छ। विहारको मुसहर्वा गाउँबाट ‘अली’ भनिने व्यक्तिको नेतृत्वमा सोमबार र बिहीबार रातिको समयमा राँगाको लस्करै नेपाल प्रवेश गराइन्छ। स्थानीयका अनुसार, अलीको समूहले प्रहरीको स्कर्टिङमै राँगा भित्र्याउने गरेको पुष्टि भएको छ। रातको समयमा प्रहरीले गस्ती नगर्नु र तस्करहरूको स्वतन्त्र आवतजावतले सुरक्षा संयन्त्रमा गम्भीर प्रश्न उठाएको छ।

अमरपट्टी र प्रसौनी क्षेत्रका बासिन्दाहरू यस्ता तस्करी गतिविधिबाट अत्यन्तै हैरान छन्। एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा भने, “नाकामा प्रहरी छैन, दलालको शासन छ।” उनका अनुसार, नाका चौकीमा प्रहरी अधिकृतहरूको सरुवा, पोस्टिङ तथा ड्युटी समेत तस्करीको मिलेमतो र घूसको आधारमा हुने गरेको छ।

सिमानाकाबाट यसरी खुलेआम हुने पशुजन्य तस्करीले बर्ड फ्लु, खतरनाक पशुजन्य रोग, राजस्व घाटा तथा सीमामा असुरक्षाको स्थिति निम्त्याएको छ। यो केवल स्थानीय अपराध मात्र नभई, राष्ट्रको सुरक्षामाथि नै गम्भीर असर पार्ने प्रक्रिया भएको भन्दै विज्ञहरू समेत चिन्तित छन्।

स्थानीयहरूले तस्करीमा संलग्न सुरक्षाकर्मीहरूमाथि तत्काल छानबिन गरी कडा कारबाहीको माग गरेका छन्। साथै, सीमामा सिसी क्यामेरा निगरानी, स्वचालित स्क्यानिङ प्रणाली, र नियमित स्वतन्त्र अनुगमन टोलीको आवश्यकता औंल्याउँदै तस्करी नियन्त्रणको माग चर्किएको छ।