बेतिया, बिहार — भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा एक अनौठो र चकित पार्ने घटना सार्वजनिक भएको छ। बेतिया नगरपालिका अन्तर्गत मझौलिया प्रखण्डको मोहछी बनकटवा गाउँमा एक वर्षे बालकले कोब्रा सर्पलाई दाँतले टोकेर मारेको दाबी गरिएको छ।

स्थानीय आइसक्रिम व्यवसायी सुनील साहका एक वर्षीय छोरा गोविन्द कुमारले गत बिहीबार आँगनमा खेल्ने क्रममा देखिएको कोब्रा सर्पलाई समातेर दाँतले टोकेका थिए। बालकको हर्कतबाट सर्पको केही समयमै मृत्यु भएको बताइएको छ।

गोविन्दकी हजुरआमा मतिसरी देवीका अनुसार, “गोविन्दकी आमा घर पछाडि काठ मिलाउँदै थिइन्। त्यही बेलामा गेहुँवन (कोब्रा) सर्प देखियो। गोविन्द त्यही खेल्दै बसेको थियो। सर्प देखेपछि उसले समातेर दाँतले टोकेछ। हामीले देख्दासाथ दौड्यौं।”

सर्पलाई टोकेपछि गोविन्द केही समयको लागि अचेत भएको र तत्काल उनलाई मझौलिया प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बेतियास्थित गवर्नमेन्ट मेडिकल कलेज (GMCH) मा पठाइएको थियो। अहिले बालक पूर्ण रूपमा स्वस्थ रहेको परिवारले जानकारी दिएका छन्।

स्थानीय पत्रकार नय्याजका अनुसार, “घटना पछि बालक शनिबार बेलुका घर फर्किएको छ। अहिले गाउँभरि गोविन्दको चर्चा चलेको छ। सावनको महिनामा सर्प देखिनु सामान्य हो, तर सर्प टोकेर बालकले मारेको घटना पहिलो पटक देखिएको हो।”

यो घटना अहिले स्थानीय मात्र नभई सामाजिक सञ्जालमार्फत देशभर चर्चाको विषय बन्दै गएको छ। चिकित्सकहरूले यस्ता घटनामा सतर्कता अपनाउन र सर्पसँगको कुनै पनि सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन्।