काठमाडौं — दक्षिण एशियाली भान्साको अभिन्न हिस्सा हल्दीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ। आयुर्वेददेखि आधुनिक अनुसन्धानसम्म हल्दीका अनेकौं फाइदाहरू उल्लेख गरिएको पाइन्छ। पेट दुखाइ, अपच, मधुमेह, डिप्रेशन, अल्जाइमरजस्ता रोगमा यसको प्रयोग लाभदायक हुने विश्वास गरिएको छ।

कतिपय अध्ययनहरूमा हल्दीमा पाइने ‘कुर्कुमिन’ तत्वले क्यान्सरको वृद्धि रोकिने सम्भावना रहेको समेत जनाइएको छ। त्यस्तै, छालाको चमक बढाउने, डण्डीफोर हटाउने र घाउ उपचारमा यसको प्रयोग हुने गर्छ।

तर, विशेषज्ञहरूका अनुसार हल्दीका फाइदासँगै यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा नोक्सान पनि पुर्‍याउन सक्छ।

चिकित्सकहरूका अनुसार बढी मात्रामा हल्दी सेवन गर्दा ग्यास, पेट फुल्ने, डायरिया, एलर्जी, र रक्तश्रावजस्ता समस्या देखा पर्न सक्छ। साथै, किड्नी स्टोनको जोखिम पनि बढ्न सक्ने चेतावनी दिइएको छ।

विशेषगरी रक्तपातला बनाउने औषधि सेवन गरिरहेकाहरूका लागि हल्दी जोखिमपूर्ण हुन सक्छ, जसले औषधिको प्रभाव दोब्बर बनाई रक्तश्रावको समस्या निम्त्याउन सक्छ।

यसकारण हल्दीको प्रयोग गर्दा सन्तुलन कायम राख्नु जरुरी छ। औषधिको रूपमा प्रयोग गर्नुभन्दा पहिले चिकित्सक वा विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुने स्वास्थ्यकर्मीहरू सुझाउँछन्।

हल्दी उपयोगी भए पनि अत्यधिक प्रयोगले लाभको साटो नोक्सान पुर्‍याउन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।