पंचगावाँ, // भारत–नेपालको धार्मिक सम्बन्धलाई जोड्ने पवित्र स्थलको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने घना जंगलमा सावन भरी लागने मेला अहिले धार्मिक ऐतिहासिक पर्यटकीय सम्भावना उच्च रहेको र मधेस प्रदेश मै सबभन्दा पवित्र मन्दिर र पर्यटनको लागि जल जंगल विभिन्न प्रजातिको चराचुरु जिउ जनावरको दृश्य बासस्थान समेत हेर्न पाउने उदेश्यले पनि मेला आउने गरेको दर्शनार्थी भक्तजनहरूले बताएका छन्।

‘भाठा धाम’ — जसलाई दुग्धेश्वरनाथ महादेवको मन्दिरका रूपमा पनि चिनिन्छ — साउन महिनामा विशेष भक्तिभाव र धार्मिक जनविश्वास आस्थाको केन्द्र बनेको छ। चुरे पहाड डाँडामाथि अवस्थित यस पवित्र थलोमा साउनी सोमबारको दिन हजारौँ श्रद्धालुहरूको भिड लाग्ने गरेको छ। यस वर्ष पनि मेलामा रौतहट, बारा, पर्सा,सर्लाही,चितवन,लगायत भारतको बिहार र उत्तर प्रदेशबाट आएका भक्तजनहरूको उपस्थिति उल्लेखनीय देखिएको मेला समिती सदस्य मनोज यादवले बताएका छन ।

मेला व्यवस्थापन समितिका अनुसार साउन महिनाभर लाग्ने मेलामा विशेषतः सोमबारको दिन हजारौँ दर्शनार्थीहरू महादेव तथा पार्वती मन्दिरको दर्शन र पूजाका लागि यहाँ ओइरिन्छन्। चुरेको डाँडामाथिको यस स्थलले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थालाई पनि समेटेको हुनाले यहाँको आकर्षण थप बलियो हुँदै गएको छ।

पुरानो किंवदन्तीसँग जोडिएको इतिहास : स्थानीयको कथन अनुसार एक जना गोठालोले सपनामा सेतो शिवलिंग देखेपछि उक्त स्थानमा पुग्दा त्यही आकृतिको ढुंगाबाट दूध बगिरहेको देखेपछि यो स्थललाई पूजाआजा गर्ने थलो बनाइएको र यसको इतिहास जतिभन्दा पनि कमै रहेको र शक्तिभावले भरिएको दुधेश्वर महादेव मन्दिर सयौं वर्ष पुरानो रहेको पटेर्वा सुगौली गाउँ पालिका वडा नं.१ का लालबहादुर यादवले बताएका छन् ।

प्रारम्भमा काठको मन्दिर बनाइएको थियो र ढुंगालाई दुधेश्वर महादेव भनी पुजदै आएको मन्दिर हाल त्यही स्थानमा पक्की मन्दिर निर्माण गरिएको छ। मन्दिरसम्म पुग्नका लागि दुबै तर्फबाट सिँढी बनाइएको छ भने रेलिङ समेत जडान गरिएको छ। टावरको सुविधाका लागि नेपाल टेलिकमले संचार सेवा पुर्‍याएको छ भने मेलामा आउने श्रद्धालुका लागि १० महिला र १० पुरुष गरी २० वटा शौचालय निर्माण गरिएको मेला समितिका सदस्य शम्भु प्रसाद यादवले जनाएको छ।

महादेव मन्दिर तीर्थयात्रीको आकर्षण, पर्यटक गन्तव्यको सम्भावना रहेको छ् !मेलामा सहभागी दर्शनार्थीहरूका अनुसार भारतको बिहार तथा उत्तर प्रदेशबाट हरेक वर्ष झन्डै ७० प्रतिशत दर्शनार्थी यहाँ आउने गरेका छन्। ‘वनजङ्गलबीचको खुला मैदान, चुरेको हरियाली र शान्त परिवेशले उनीहरूलाई मन्त्रमुग्ध बनाउँछ ‘भारतका धेरै ठाउँका श्रद्धालु यो ठाउँमा आउँदा घर जस्तै अनुभूति गर्छन्।’

साँस्कृतिक र धार्मिक माहोल थप प्राणपुर्ण बनाउन यहाँको मेला अवधिभर परम्परागत बाजागाजा, नाचगान, भजन कीर्तन, भाखल पुरा भएपछि कथावाचन र अष्टजाम पूजन समेत गर्ने गरेका छन्। वनभोजजस्ता गतिविधिहरू भइरहन्छन्। विशेषतः झरीमा रुझेका दर्शनार्थीहरू आन्तरिक सन्तुष्टि र भक्ति भावले ओतप्रोत हुने गर्छन्।

तर, स्थानीयवासी र धार्मिक अगुवाहरूको गुनासो छ — यहाँको मेला वर्षेनि भव्य हुँदै जाँदा पनि यसलाई व्यवस्थित गर्न सरकार उदासीन देखिएको छ। हाल नाचगान र सांस्कृतिक कार्यक्रम ‘चर्भैया’ भन्ने खुला मैदानमा हुने गरे पनि उचित व्यवस्थापन अभावले शोभा घट्ने गरेको छ।

देशमा तीन तहको सरकार छ तिनै तहको सरकारले यसमा ध्यान दियो भने पर्यटनको रुपमा र धार्मिक आस्था र जनविश्वासको रुपमा पूजाआजना गर्नुको साथै जङ्गल सफारी विभिन्न किसिमको जीव जनावर हाथी बाघ हरिन जस्ता हेर्न पाउने र चराचुरुङ्गीहरू हेर्न पाउने र उनीहरुको बासस्थानहरु देखन पाउने हरियाली सुन्दर हराभरा जङ्गल जडीबुटी, जल र चुरे पहाड सेल्फी स्टल, प्रतिक्षालय साथै विगतको समयमा श्री५ महाराज धिराज राजा दुधेश्वर महादेवको दर्शन गर्न प्लेन चढेर आउँदा प्लेन उत्रीन बनाईएको दृश्य हेर्न पाउने पर्यटन प्रवर्धनको लागि यस ठाउँ धेरै नै महत्वपूर्ण र हेरौं कि हेरौं भन्न लाग्ने स्थानको र सम्बन्धित सरोकारवाला निकाय र सम्बन्धित राज्यले यसलाई उचित व्यवस्थापन र अन्य विकासको गतिविधि अगाडि नबढाउँदा अझै पनि ओझेलमा रहेको नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा ग्रामीण क्षेत्रका वरिष्ठ पत्रकार प्रमोद यादवले बताएका छन । उनले भने, ‘पर्सा जिल्लामा दुई संघीय र दुई प्रदेश मन्त्री रहे पनि धार्मिक सम्पदा संरक्षणतर्फ कुनै कठोर कदम नचालेको देखिन्छ। यस क्षेत्रमा पर्यटन विकास गर्न स्थानीय तयार छन्। तर यसको लागि एउटा बृहत् सरकारी योजना आवश्यक रहेको बताउँछ।’

स्थानीय समुदायले स्वयं भाथा धामको संरक्षण, सौन्दर्यीकरण र व्यवस्थापनमा सक्रियता देखाइरहे भए पनि सरकारी तहको नीतिगत योजना अभावले यो पवित्र स्थलको समग्र विकासमा अवरोध भइरहेको सरोकारवालाहरुले बताउँछन्।