पंचगावा // सखुवा प्रसौनी गाउँपालिकामा विगत तीन महीनादेखि किट नभएर प्रयोगशालाको काम अवरुद्ध भएको छ। पालिकामा प्रदेशस्तरमा स्थापित प्रयोगशालामा करीब ४२ थरीको परीक्षण गरिन्छ। तर किटको अभावमा अहिले यो प्रयोगशालामा पाँचथरीको सामान्य परीक्षण मात्र हुने गरेको छ।

प्रदेश सरकारले किट नपठाएको र गाउँपालिकाले पनि व्यवस्थापन नगर्दा सेवाग्राहीहरू अहिले अन्यत्रबाट सेवा लिन बाध्य भएका छन्। प्रदेश सरकारले पालिकास्तरमा गत वर्षदेखि प्रयोगशाला स्थापना गरेको हो। पालिकामा प्रयोगशाला स्थापना भएपछि वीरगंज, जीतपुर, चितवन, काठमाडौं जानुपर्ने बाध्यता हटेको थियो।

सामान्यदेखि दीर्घरोगसम्मको परीक्षण पालिकामा स्थापित प्रयोगशालाबाट हुने गरेको छ। दक्ष प्राविधिक र प्रविधियुक्त यन्त्रहरू जडान गरेर प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान हुँदै आएको स्थानीय बताउँछन्। प्रदेश सरकारले किट समयमा पठाउन नसक्दा अन्य पालिकाहरूले व्यवस्थापन गरेका छन्।

प्रदेशबाट आउने बजेटबाट मिलान हुनेगरी तत्काल सेवा अवरुद्ध हुन नदिएको पर्सागढी नपाका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल बताउँछन्। उनले तीन महीना अघि नै पालिकाले किटको व्यवस्थापन गरेकोले यो पालिका अन्तर्गतका सेवाग्राहीले अहिलेसम्म नियमित सेवा पाइरहेको बताए।

यसैगरी पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्रप्रसाद यादवले पनि आफ्नो पालिकाले किट व्यवस्थापन गरेको र सेवा प्रभावित नभएको बताए।

तर तीन महीनादेखि किट अभाव भएको र प्रदेश सरकारले नपठाएको कारण अहिले ल्याबमा परीक्षण अवरुद्ध भएको सखुवा प्रसौनीका ल्याब टेक्निसियन उमाशङ्कर प्रसाद बताउँछन्। उनले प्रदेशबाट किट नआएको र पालिकाले व्यवस्थापन नगर्दा समस्या भएको बताए। अहिले पाँचथरीका मात्र परीक्षण हुने गरेको र अन्य परीक्षणका लागि सेवाग्राही अन्य पालिकामा जाने गरेको जानकारी दिए।

स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले भने प्रयोगशालाले समयमा किट माग नगरेको र अहिले बजेट अभावमा व्यवस्थापन गर्न नसकिएको बताए। उनले असार अघि किट माग भएको भए पालिकाले व्यवस्थापन गर्न सक्थ्यो, तर अहिले समस्या आएपछि माग भएको तर बजेट अभावमा व्यवस्थापन हुन नसकेको बताए।

प्रदेश सरकारले पालिकास्तरमा प्रयोगशाला निर्माण गरेर अन्यत्र लागत भन्दा ७५ प्रतिशतमा सेवा प्रदान गर्दै आएको छ। महँगो परीक्षण पालिकाको प्रयोगशालामा सस्तोमा हुन थालेपछि स्थानिय सेवाग्राहीको आकर्षण बढेको छ।