पंचगावाँ / पर्सा जिल्लामा आकाशे पानी नपरेको कारण हाल कृषकहरू खेतीपातीका लागि निकै निराश बनेका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा पानीको स्रोत सुकेका छन् भने सिंचाइका अन्य विकल्प नहुँदा साउन महीनामा गरिने खेती कर्म प्रभावित हुँदै गएको छ ।

पर्सागढी नगरपालिका–७ का अध्यक्ष शङ्कर रायभरका अनुसार विगत केही महीनादेखि सुक्खायाम शुरू भएसँगै पानीको हाहाकार उत्पन्न भएको छ । यसले गर्दा किसानहरू आफ्नो खेतबारीमा काम गर्न सकिरहेका छैनन् । खेतीपाती ढिलो हुँदा किसानहरूमा निराशा बढेको छ भने आर्थिकरूपमा पनि कठिन अवस्था देखिन थालिएको छ ।

खेतीमा देखिएको यो समस्याको असर धार्मिक यात्रामा पनि देखिन थालिएको छ । वर्षैपिच्छे साउन महीनामा बोलबम यात्रा, कमरिया यात्रा जस्ता तीर्थयात्रा गरिरहने किसानहरू यस वर्ष आफ्नो गाउँघरमै सीमित भएका छन् । खेतीको सिजन र आर्थिक अभावको कारण भारततिर लाग्ने तीर्थयात्रीको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ ।

यद्यपि आफ्नै जिल्लाभित्र रहेका धार्मिकस्थलहरूमा भने भक्तजनहरूको चहलपहल बढेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महŒवको बाबा दुधेश्वरनाथ महादेव मन्दिरमा यस वर्ष साउन महीनामा भक्तजनहरूको भीड बढेको देखिएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक सोमवार शिवभक्तहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । तिथि अनुसार साउन महिनाका तीन सोमवार बितिसकेको छ भने मिति अनुसार दुई सोमवार बितेको छ । यसपटक तिथि र मिति दुवैमा चारवटा सोमवार परेको छ । तिथिको सोमवार साउन १९ गते चारवटा पुग्दैछ र साउन २४ गतेदेखि तिथिको साउन सकिन्छ । जनै पूर्णिमा र रक्षाबन्धनपछि तिथि अनुसार साउन महीना सकिन्छ । तर मिति अनुसार भने साउन २६ गते चौथो सोमवार परेको छ ।

दुग्धेश्वरनाथ महादेव सरह नवलपरासीको त्रिवेणी, भरतपुरको देवघाट, बाराको काठघाट, सिद्धेश्वर मन्दिर, काठमाडौंको पशुपतिनाथ र वीरगंजको चिनीमिल क्षेत्रको पशुपतिनाथ मन्दिर र अलखियामठ मन्दिरमा पनि भक्तजनको उपस्थिति बाक्लो हुने गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–१ का स्थानीय समाजसेवी लालबहादुर यादवले पानी नपरेकोले खेतीमा ढिलाइ भएको छ, कृषकहरू आर्थिक सङ्कटमा छन्, जसले गर्दा टाढा जान सक्ने अवस्था नरहेको बताए । त्यसैले अहिले आफ्नै गाउँठाउँका शिवालयहरूमा पूजाआजा गरेर धार्मिक कर्तव्य पूरा गरिरहेको उनले जिकिर गरे ।

एकातिर मौसमका कारण किसानहरू समस्यामा परेका छन् भने अर्कोतिर स्वदेशी धार्मिकस्थलमा आस्था राख्दै साउनको अवसरमा धार्मिक भावनालाई पूरा गर्ने प्रयास गरिरहेका छन् ।

यसो त भारतको झारखण्ड राज्यमा पर्ने देवघर जाने नेपाली भक्तजनहरूको सङ्ख्यामा बर्सेनि कमी आउँदैछ । धानको रोपाइँ सकेर बाबाधाम जाने गरिन्थ्यो तर पछिल्ला समयमा आकाशे पानी समयमा नपर्दा धान रोपाइँ प्रभावित हुने गरेकोले नजीकैका क्षेत्रमा काँवरसहित जल बोकेर महादेव भगवान्को दर्शन गर्न पाइने अवसर जुट्दै गएकोले पनि बाबाधाम जानेहरूमा कमी आएको हो ।

गाउँशहरबाट बस बूकिङ गरेर, रक्सौलबाट रेलमा यात्रा गर्नेहरूको ठूलो भीड हुने गथ्र्यो । तर अहिले त्यस्तो दृश्य एक दशकदेखि कम भएको छ । धेरै तीर्थयात्री चार चक्के गाडीबाट बाबाधाम पुग्ने हुँदा अहिले बाबाधाम जानेहरूको पहिलेको जस्तो जमघट, नाराबाजी सुन्न देख्न पाइएको छैन । यसको अतिरिक्त आन्तरिक धार्मिकस्थलमा बोलबमहरू पुग्ने गरेकाले पनि भारत देवघर जानेहरूको सङ्ख्यामा कमी आएको हो ।