पर्सा // सखुवा प्रसौनी गाउँपालिका–४ देउरबना स्थित महाकाल युवा ग्रुप कमरिया बम देउरबाना, पर्साबाट आज विहान १० बजे भव्य धार्मिक शोभायात्रासहित १५५ फिट लामो कावड यात्रा शुभारम्भ गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा नेता शैलेन्द्र यादव, कांग्रेस नेता युगेश्वर यादव, अर्का नेता अर्जुन चौधरी लगायत विभिन्न राजनीतिक दलहरूमा आबद्ध व्यक्तित्वहरू, समाजसेवीहरू तथा धर्मप्रति आस्था र विश्वास राख्ने स्थानीय युवा–युवती, महिला तथा पुरुषहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले संयुक्त रूपमा पूजाआर्चना गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए।

यस धार्मिक यात्रामा स्थानीय युवाहरूको टोलीले देउरबाना स्थित शिव मन्दिरबाट स्थितको नदि तालबाट गंगाजल बोकेर रामभौडी भाठा स्थित श्री दुधेश्वरनाथ महादेव मन्दिरमा दर्शन गरिसकेपछि घोडेमसान बाबा सम्मको पैदल यात्रा प्रारम्भ गरेका हुन्। यात्रा प्रारम्भपूर्व वैदिक मन्त्रचारण, हरहर महादेवको जयघोष, डमरुको ताल र फूल–अक्षताले पूजा गरिएको थियो।

महाकाल युवा ग्रुपका सदस्यहरूले परम्परागत भगवा पहिरन, टिका, माला, रङ्गीन ध्वजाबाहक झाँकीसहित यात्रा आरम्भ गरेका थिए। १५५ फिट लामो विशेष कावडले कार्यक्रमलाई विशिष्टता दिएको छ।

स्थानीय अर्जुन चौधरीका अनुसार, “धार्मिक, सामाजिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले यो यात्राको आयोजना गरिएको हो,” उनले भने।

कार्यक्रमको क्रममा जनसमुदायले जल छर्कने, पुष्पवर्षा गर्ने, भजन कीर्तनमा सहभागी हुने लगायत विविध माध्यमबाट श्रद्धा व्यक्त गरेका थिए। यस्तो आयोजनाले धार्मिक पर्यटनको प्रवर्द्धन, सामाजिक सद्भाव र युवाको नेतृत्व क्षमतामा वृद्धि हुने विश्वास गरिएको छ।