जिराभवानी, पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा लालपुर्जा वितरणको तयारीस्वरूप बाँकी रहेका जग्गाहरूको नापनक्सा उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा भूमि आयोग पर्सा जिल्ला समिति अध्यक्ष तवरेज अहमदले डिजिटल मेसिनको बटन थिचेर नापनक्सा कार्यको उद्घाटन गर्नुभयो।

कार्यक्रम ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नापी कार्यालय पर्साका प्रमुख दिपक सिंह, नापी अधिकृत राजकुमार विश्वकर्मा, सर्भेक्षक मधुरेन्द्र झा लगायतको प्राविधिक टोली सहभागी थियो। त्यसैगरी वडा नं. ४ का अध्यक्ष मानबहादुर थिङ, वडा नं. १ का अध्यक्ष धनमान थापा, जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विक, कार्यपालिका सदस्यहरू देवीमाया थिङ, फुलमाया दर्जी लगायत स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै आयोग अध्यक्ष अहमदले आगामी दसैंसम्म केही लालपुर्जा वितरण गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष श्रेष्ठले भने लालपुर्जा वितरणको यो सुनौलो अवसरमा नापी टोलीलाई आवश्यक सहयोग गर्न सबै ठोरीबासीलाई अनुरोध गर्नुभयो।

नेपाल टेलिभिजनकी सञ्चारकर्मी लक्ष्मी खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा करिब १५० जना स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रमले ठोरीमा भूमिसम्बन्धी समस्याको समाधानमा महत्वपूर्ण मोड लिएको स्थानीयले बताएका छ /