वीरगन्ज । वीरगन्जमा कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठाका ४० वर्षीय साहेब खाँ रहेका छन्। उनी हाल वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित ससुराली घरमा बस्दै आएका थिए।

पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार खाँले हतियार बोकेर स्थानीयलाई डरत्रास देखाउँदै हिँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वीरताबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले खाँलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार खानतलासी गर्दा खाँको साथबाट उक्त अवैध हतियार फेला परेको हो। अहिले खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

उनविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।