पंचगावाँ – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ स्थित पथलवाघाट क्षेत्रबाट अबैधरुपमा सालको काठ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले साईकलसहित नियन्त्रणमा लिएको छ।

२०८२ साउन २२ गते राति गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीलाई देखेपछि तस्कर साईकलमा बोकेको झण्डै ४ क्युफिट बराबरको सालको काठ छाडेर फरार भएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । काठसहितको साईकल सोही स्थानमा छाडिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले उक्त काठ र साईकललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कार्यालयमा ल्याएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले जनाएको छ।

स्थानीय स्रोतका अनुसार पथलवाघाट जंगल क्षेत्रबाट गदियानीतर्फ काठ लादिँदै गरिएको अनुमान गरिएको छ। हाल फरार तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।