पर्सा — पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रंगपुर टाडीमा भूमिहीन दलित र सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिको प्रयोग गरी जग्गा नापजाँच गरिएको छ।

शुक्रबार सम्पन्न नापजाँच कार्यमा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार, नेपालमै पहिलोपटक यस उद्देश्यका लागि ड्रोन प्रविधि प्रयोग गरिएको हो। आयोगका अधिकृत तथा अनुमगन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा टोलीले उक्त क्षेत्रमा ड्रोनमार्फत नापजाँच सम्पन्न गरेको हो।

अध्यक्ष अहमदले बताएअनुसार, “ड्रोनले १० मिनेटमा सक्ने काम आयोगको पाँच जनाको टोलीले गर्न एक महिना लाग्न सक्छ।” उनका अनुसार प्रविधिको प्रयोगले नापजाँच प्रक्रिया द्रुत, सहज र सटीक हुने छ, जसले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिटो समाधान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष विजय गैरे, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, नापी टोली प्रमुख, स्थानीयवासी तथा सरोकारवाला निकायहरूको उपस्थितिमा नापजाँच सम्पन्न गरिएको हो।