काठमाडौं ।। तस्करहरुले तस्करीका अनेक जुक्ति अपनाउँछन्। भरपर्दो सूचना नहुने हो भने समात्नै मुस्किल । जुक्ति पनि यस्ता यस्ता हुन्छन् कि अनुमान गर्नै कठिन । यस्तै लागुऔषध तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएर गरेको लागुऔषध तस्करीको एउटा घटना बाहिरिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको काठमाडौं विमानस्थलको टोलीले लागुऔषध कोकिन सहित ब्राजिलको २१ वर्षीया एमिली मिकेल सान्टोस फरेरालाई पक्राउ गरेपछि तस्करीको लागि अपनाइएको नयाँ जुक्ति पत्ता लागेको हो।

ब्यूरोले ब्राजिलबाट दोहा हुँदै गत साउन २१ गते नेपाल आएको र नेपालबाट भुटान जान लागेको अवस्थामा ती युवतीलाई लागुऔषधसहित पक्राउ गरेको थियो । भुटान जान लागेको बेला शंका लागेर चेकजाँच गर्दा उनले लगाएको भित्रि बस्त्र (ब्रा) मा लुकाएर राखेको १ किलो ९५० ग्राम कोकिन बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाले बताए।

उनका अनुसार युवतीले लगाएको भित्रि बस्त्रमा लुकाइएको कण्डममा कोकिनलाई झोलको रुपमा राखिएको थियो ।

पक्राउ परेकी युवतीबिरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाण्डौंबाट म्याद लिएर अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।