पंचगावाँ ।। पशुपतिनाथ मन्दिर परिसरमा शव जलाउने क्रममा मृतकको मासु बिक्री हुने गरेको तथ्य बाहिर आएको छ। प्राइम टाइम टेलिभिजनको विशेष रिपोर्टअनुसार, गत शुक्रबार दिउँसो काभ्रे, बनेपाका राम शाहीको अन्तिम संस्कारका क्रममा यो घटना सार्वजनिक भएको हो।

प्रत्यक्षदर्शीका अनुसार, शव जलाउने काममा संलग्न एक व्यक्तिले एक बट्टामा मासुको टुक्रा राखी अन्यलाई दिइरहेको देखेपछि रहस्य खुलेको हो। सो व्यक्तिले आफूले मासु रु. ४०० मा बिक्री गरेको र मासु ओसारपसार गर्ने केटाकेटीलाई रु. १०० दिएको स्वीकार गरेका छन्।

तर, उक्त मासु किन र कसका लागि बेचिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र थप तथ्याङ्क संकलन भइरहेको जनाएको छ।