वीरगंज, २७ साउन/ पर्सा जिल्लाका १४ वटै पालिकाको चालू आव २०८२/८३ को खाता सञ्चालनमा आउन सकेको छैन । गत आवमा असार २५ गतेसम्म भुक्तानी मिति रहेकोमा अहिलेसम्म कुनै पनि पालिकाहरूले सरकारबाट पाएको अनुदान सहयोगको खर्च विवरण पेश गर्न नसकेकाले खाता सञ्चालनमा आउन नसकेको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका मनीष गौतमले पालिकाहरूले खर्च विवरण पेश नगरेकाले खाता सञ्चालनमा आउन नसकेको बताए । उनले नगर/गाउँ सभा सम्पन्न गरेको प्रमाणित प्रतिवेदन, खर्चको विवरण र बक्यौता रकम दाखिला गरेको प्रमाणसहित पेश गरेको खण्डमा कोलेनिकाबाट मन्त्रालयमा पत्राचार गरेर त्यहाँबाट खाता सञ्चालनको अनुमति पाउने व्यवस्था रहेको बताए ।

पर्सा जिल्लाका १० वटा पालिकाले नगर/गाउँ सभा सम्पन्न गरिसकेका छन् भने चारवटा पालिकाको सभा हुन सकेको छैन । सभा सम्पन्न गरिसकेका पालिकाहरूले पनि खाता सञ्चालनका लागि आवश्यक प्रयास गरेका छैनन् ।

सरकारले पठाउने अनुदान रकम भदौको अन्तिम अथवा असोजको पहिलो सातामा पठाउने हुँदा पालिकाहरूले हतार नगरेका पनि हुन सक्छन् । यस अघिका वर्षहरूमा पनि पालिकाहरूले सोही अवधिमा खाता सञ्चालनका लागि कार्य गरेको देखिन्छ ।

गत आवमा सबैभन्दा ढिला बहुदरमाई गापाको खाता सञ्चालन गरिएको थियो । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको अन्तद्वन्द्वका कारण खाता सञ्चालन हुन सकेको थिएन ।