प्रमोद यादव, पर्सा, २६ साउन/ पटेर्वासुगौली गाउँपालिका–१ र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत चुरे पहाडको फेदीमा हरियाली र धार्मिक वातावरणले भरिपूर्ण घना जङ्गलभित्र पहाडमा अवस्थित दुधेश्वरनाथ महादेव मन्दिर, रामभौरीभाठाधाममा साउन महीनामा लाग्ने एक महीने मेलाको समापन भएको छ ।

यो पवित्रस्थल पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ मा अवस्थित छ । यहाँ हरेक वर्ष साउन महीनाभर लाखौं भक्तजनले जलाभिषेक तथा पूजाअर्चना गर्दै मेला भव्यताका साथ मनाउने परम्परा छ । यस वर्षको मेलामा पर्सा, बारा, रौतहटसहित भारतका बिहार र उत्तर प्रदेशबाट भक्तजनहरू ठूलो सङ्ख्यामा आएको पटेर्वासुगौली गापाका वडाध्यक्ष माधव राउत थारूले बताए ।

साउन महीनाभरि प्रत्येक सोमवार विशेष पूजा, भजन–कीर्तन र धार्मिक अनुष्ठान हुने यस मेलामा मितिले साउनको अन्तिम सोमवारसँगै एक महीने साउने मेलाको औपचारिक समापन भएको हो । तिथिले गत सोमवार साउन सकिएको तर मितिले आज अन्तिम सोमवार हो । यस वर्ष मिति र तिथिले चार/चार वटा सोमवार परेका थिए । मितिले अन्तिम सोमवार भक्तजनहरू बिहानैदेखि मन्दिरमा लाइन लागेर शिवलिङ्गमा जल, दूध र बेलपत्र चढाएका थिए ।

स्थानीयले बताए अनुसार चुरे पहाडको प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको सङ्गम भएको यो स्थल पर्यटकीय दृष्टिले पनि निकै सम्भावनायुक्त छ । तर पूर्वाधार विकास र प्रचारप्रसारको कमीका कारण अझै पनि स्वदेश र विदेशका पर्यटकहरूले यो मेलामा सहभागिता जनाउन सकेका छैनन् ।

मेलाको समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समितिले भक्तजनको सहज आवागमन र सुरक्षाका लागि सक्दो व्यवस्थापकीय जिम्मेवारी पूरा गरेका थिए ।

भारत बिहार रक्सौल निवासी हरिओमप्रसाद यादवका अनुसार भाठाधाम सयौं वर्ष पुरानो धाम रहेको र यहाँनेर धाम मात्रै गर्न आउने होइन कि वन्यजन्तुको दृश्य हेर्ने, बासस्थान हेर्ने, जल नै चर्चित रहेको अनि हराभरा जङ्गल, चुरे पहाड, हात्तीसार, एक हजार मानिस अट्ने क्षमताको धर्मशाला, भ्युटावर, सेल्फी स्टल, विभिन्न प्रजातिका चराचुरुङ्गी र छालासम्बन्धी र केही आवश्यक जडीबुटी पाउने भएका हुनाले मेलाबाहेक अरू दिन आउन अनुमति नभए पनि मेलाको समयमा गएर जडीबुटीसमेत ल्याउन सक्ने मौका प्रदान गरिएको बताए ।

आफ्नो छिमेकी देश नेपाल पर्सा जिल्लाको दुग्धेश्वर महादेव मन्दिर पर्यटकीयरूपमा अति नै राम्रो रहेको र यसपटक पनि अघिल्ला वर्षझैं अवलोकन भ्रमणबाट आनन्द बटुलेको उनले बताए । उनले यति पुरानो र प्रख्यात मन्दिरको आशाप्रदरूपमा विकास नभएकोमा दुःखेसो पनि पोखे । मेला समितिले यसपटकको एक महीने साउने मेलामा तीन लाखभन्दा बढी भक्तजनले दर्शन गरेको दाबी गरेको छ ।