पंचगावाँ ।। सखुवा प्रसौनी — पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ कटेया गाउँका दुई वटा घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा खटिएको संयुक्त अनुगमन टोलीले बुधबार मध्यरातमा साह महमद अन्सारी र युनुस अन्सारीको घरमा छापा मार्दा १९१ बोरा मल फेला पारेको हो। बरामद मलमा डीएपी, पोटास, डिएमी र फस्फोटजस्ता मल समावेश छन्।

प्रजिअ अर्यालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत किसानलाई वितरणका लागि पठाइएको अनुदानको मल महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले अवैध रूपमा भण्डारण गरिएको थियो। प्राप्त सूचनाका आधारमा साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको हो।

साह महमद अन्सारीको घरबाट डिएमी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा मल बरामद गरिएको छ भने युनुस अन्सारीको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा फेला परेको प्रहरीले जनाएको छ। बरामद मल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

दुवै घरका मालिक फरार रहेका र खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

हाल पर्सामा धानबालीका लागि मलको चरम अभाव छ भने किसानले सरकारी मल वितरणमा अनियमितता र कालोबजारीको गुनासो गर्दै आएका छन्। प्रजिअ अर्यालले केही दिनअघि मल वितरणमा पारदर्शिता ल्याउन स्थानीय तहका प्रतिनिधि र कृषि सहकारीका सञ्चालकलाई निर्देशन दिएका थिए। निर्देशनअनुसार सुरु भएको अनुगमनकै क्रममा यो ठूलो परिमाणको मल बरामद भएको हो।