सप्तरी— सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा बरामद गरेको छ। जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचामा सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेका पाँच पोकामा २०–२० केजीका दरले गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बेस पातोका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। बरामद सामग्री इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत शुक्रबार पनि जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा १७ बोरामा राखिएको तीन सय ९६ किलो गाँजा बरामद गरेको थियो।