जनकपुर, ३० साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको एक विशेष समारोहबीच उद्घाटन गर्नुभयो। करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ लागतमा बनेको उक्त सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरेको यो भवन सञ्चालनमा आएपछि प्रदेश प्रहरीको कार्यक्षमता र सेवा प्रवाहमा गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ।

यसअघि भवन नहुँदा मधेस प्रदेश प्रहरी भाडाको घरमा कार्य सञ्चालन गर्दै आएको थियो। जनकपुरधाम वडा नं ४ स्थित यो भवन तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गर्नुभएको हो। निर्माण कार्यको जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले तोकिएको समयसीमा भित्रै भवन सम्पन्न गरेको हो।