पंचगावाँ ।। पर्साको पकाहाँ मैनपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आ.व. २०८१/०८२ मा ३५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो।

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज, साथै नेकपा एमालेका प्रभावशाली युवा नेता अकलेश कुमार साहको विशेष पहल र सक्रियतामा यो काम सम्पन्न भएको स्थानीयहरूले बताएका छन्। अधुरो अवस्थामा रहेको स्वास्थ्य चौकीलाई पुनः निर्माण गरी आधुनिक स्वरूपमा सञ्चालनमा ल्याइएको हो।

साहले आफ्नो राजनीतिक सक्रियता र पहलमार्फत बजेट ल्याएर जनताको प्राथमिक आवश्यकतामा आधारित विकास कार्यलाई अघि बढाएको बताए। “जनताले चाहेका आधारभूत सुविधामा लगानी गर्नु मेरो पहिलो जिम्मेवारी हो,” साहले भने।

स्थानीय बासीले स्वास्थ्य चौकीको पुनर्निर्माणसँगै स्वास्थ्य सेवामा पहुँच सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। एक वर्षभित्रै सडक, नाला, खानेपानी, शिक्षा र स्वास्थ्यसम्बन्धी संरचनाहरूको निर्माण तथा मर्मत कार्य सम्पन्न गराउन साहले गरेको योगदानका कारण उनको लोकप्रियता बढेको छ।

त्यस्तै, गाउँका एक वृद्धले भने, “युवा नेता अकलेश साह जस्तो नेता पहिले देखेका थिएनौं। उनको काम हेरेर मन खुसी भएको छ। अधुरो अस्पताल पुनर्निर्माण भएपछि हाम्रो सेवा अझै सहज भएको छ, पहिलाभन्दा धेरै सुधार आएको छ।”