जनकपुरधाम, १ भदौ । जनकपुरधाममा वकिलहरूले पत्रकारमाथि गरेको आक्रमणको विरोधमा पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय (सिडिओ) धनुषा अगाडि धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा सञ्चारकर्मीहरू “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्डसहित बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

गत साउन २७ गते गुठी संस्थानबाट लिजमा लिएको जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले आक्रमणकारी शैलीमा प्रस्तुत हुँदै पत्रकारमाथि हिंसक आक्रमण गरेका थिए । सो आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

आक्रमणमा संलग्न पाँच वकिलविरुद्ध जाहेरी दिइए पनि प्रहरीले हालसम्म पक्राउ नगरेको भन्दै महासंघले प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाएको छ । हिजो शनिबार बसेको पत्रकार भेलाले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै शान्तिपूर्ण आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार आजदेखि पत्रकारहरूले चरणबद्ध विरोध प्रदर्शन सुरु गरेका छन् ।