पंचगावाँ ।। । तीन दशकभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा निरन्तर सक्रिय प्रतीक दैनिकले आफ्नो ३८औं वर्ष पूरा गरी ३९औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वीरगञ्ज–१५ स्थित जेष्ठ नागरिक पार्क, लक्ष्मणमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी एसपी पुलचन्द्र भट्ट लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार (रु. ५१,०००) अन्नपूर्ण पोस्टका पर्सा समाचारदाता क्रान्ति शाहलाई नगरप्रमुख सिंहले प्रदान गरे । चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार (रु. १५,०००) पत्रकार सूर्यनारायण बिकलाई एसपी गौतम मिश्रले प्रदान गरे । त्यसैगरी विशेष स्तम्भकार सम्मान आनन्द कुमारलाल दासलाई उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले प्रदान गरे ।

प्रतीक प्रकाशन गृहले वितरण गर्ने नियमित पुरस्कार अन्तर्गत स्तम्भकार ओमप्रकाश खनाल (अध्यक्ष, नेपाल पत्रकार महासंघ पर्सा) ले रु. १०,०००, उत्कृष्ट संवाददाता पर्साका प्रमोद यादवले रु. १५,००० र कर्मचारी श्यामजी प्रसाद गुप्ताले रु. ५,००० प्राप्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वतन्त्र र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको उल्लेख गर्दै सचेत पत्रकारहरूले मुलुकलाई सही दिशातर्फ डो¥याउने विश्वास व्यक्त गरे । प्रमुख अतिथि नगरप्रमुख सिंहले पत्रकारिता ‘विश्वासको थलो’ भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र तथ्यपरक समाचारमार्फत् जनताको विश्वासलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, सामाजिक अभियन्ता, उद्योगी–व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमले पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै स्वतन्त्र र जिम्मेवार सञ्चार अभ्यासको महत्व पुनः स्मरण गराएको छ ।