पंचगावाँ । । भूमि समस्या समाधान आयोग पर्साले पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ मा भूमिहीनहरुसँग अन्तरक्रिया गर्दै स्थलगत प्रमाणीकरण गरेको छ।

वडाध्यक्ष बासुदेव महत्तो थारुको अध्यक्षता तथा आयोगका अध्यक्ष तबरेज अहमदको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा करिब ५५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा तीन पुस्तासम्म प्रमाणित हुने कागजातको आवश्यकता र प्रक्रिया, वैदेशिक रोजगारीमा रहेका सेवाग्राहीका समस्या, मानापाथी तथा अंशबण्डा सम्बन्धी प्रमाणिकरण, र अव्यवस्थित बसोबासीले बुझाउनुपर्ने राजस्व प्रक्रियाबारे जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष अहमदले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु आयोगको प्रमुख दायित्व भएको बताए। उनले नागरिकलाई जग्गा प्रमाणिकरण, कागजात प्रक्रिया र राज्यप्रति कर्तव्य निर्वाहका विषयमा जानकारी दिन गाउँ–गाउँ पुगेर यस्ता स्थलगत प्रमाणिकरण कार्यक्रम सञ्चालन भइरहेको स्पष्ट पारे।

उनका अनुसार जनसहभागिता र सचेतना बिना भूमिहीनको समस्या समाधान सम्भव नहुने भएकाले आयोग निरन्तर गाउँस्तरमै पुगेर काम गरिरहेको छ।