पंचगावाँ । । पर्साका दुई स्थानीय तह, जगरनाथपुर र जीराभवानी गाउँपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा एलजी ब्रान्डका वातानुकूलित (एसी) प्रदान गरेका छन्।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले आ–आफ्नो पालिकाबाट ३/३ वटा एसी उपलब्ध गराई मंगलबार अस्पतालमै पुगेर मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताका अनुसार प्राप्त एसीहरू अस्पतालको ४० शैयाको मेडिकल वार्डमा जडान गरिनेछ। हालसम्म सो वार्डमा केवल पंखाको भरमा बिरामीको उपचार हुँदै आएको थियो। गर्मीको समयमा बिरामीहरूलाई हुने असहजतालाई ध्यानमा राखी एसी जडान गर्ने निर्णय लिइएको हो।

यसक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ वटा एसी सहयोग गर्ने घोषणा गरेका छन्, जसलाई चाँडै अन्य आवश्यक वार्डहरूमा जडान गरिनेछ।

अस्पताल प्रशासनले एसी जडानपछि विशेषगरी गर्मीले प्रभावित बिरामीहरूको उपचार सहज हुने र अस्पतालको सेवा गुणस्तरमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेको छ।