पर्सा, भदौ ३ । ठोरी गाउँपालिकाभित्रका साविक उच्च मा.वि. मा कार्यरत शिक्षकहरूले आफ्नो मागसहित ६ बुँदे ध्यानाकर्षण पत्र गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ र शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउतलाई बुझाएका छन्।

माध्यमिक शिक्षक युनियन (हिस्टुन) ठोरीका अध्यक्ष लक्ष्मण बखतीको हस्ताक्षर रहेको उक्त ध्यानाकर्षण पत्रमा साविक उच्च मा.वि. का दरबन्दीमा कार्यरत शिक्षकलाई विभाजन नगर्नु पर्ने, सेवा निरन्तरता र सामाजिक सुरक्षाकोषको ग्यारेन्टी गर्नुपर्ने, मा.वि. द्वितीय कायम हुनुपर्ने, गत बैशाखमा नेपाल शिक्षक महासंघसँग भएको सम्झौता अनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग समेटिएका छन्।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा शिक्षकहरूले पालिका प्रमुख र इकाई प्रमुखलाई भेटी आफ्ना मागहरु तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए। पालिका प्रमुख श्रेष्ठले शिक्षकका माग जायज रहेको भन्दै सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए भने इकाई प्रमुख राउतले पनि मागप्रति राज्यको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरे।

युनियनका अध्यक्ष बखतीका अनुसार हिस्टुन केन्द्रीय समितिको निर्णयअनुसार भदौ ४ र ५ गते कालो पट्टी बाँधेर अध्यापन गर्ने, ६ गते पेनडाउन कार्यक्रम गर्ने तथा भदौ ७ गते अन्य कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले समेत उपस्थिति जनाउँदै ऐक्यबद्धता व्यक्त गरेका थिए।