पंचगावाँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा मल वितरणसम्बन्धी विषयमा कोडेक कृषि सहकारी संस्था र गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिष्ट महतोबीच चर्को विवाद चुलिएको छ। विवादका कारण वडा नं. २ का किसानहरू आवश्यक मल अभावमा परेका छन्।

कोडेक सहकारीले उपाध्यक्ष बिष्टमाथि राजनीतिक पूर्वाग्रहका आधारमा वडा नं. २ मा मल वितरणमा अवरोध गरेको आरोप लगाएको छ। संस्थाका अध्यक्ष सत्यजीत चौधरीले वर्षौंदेखि निष्पक्ष ढंगले मल वितरण गर्दै आएको संस्थालाई षड्यन्त्रपूर्वक हटाउने प्रयास भएको दाबी गरे। उनका अनुसार उपाध्यक्ष बिष्टकै कारण सहकारीको सिफारिस खारेज गरिएकाले किसानलाई मल उपलब्ध हुन नसकेको हो।

चौधरीले थप आरोप लगाउँदै भने, “उहाँकै श्रीमान गौरीशंकर महतोले ४० बोरा यूरिया मल माग्नुभएको थियो। नियम विपरीत माग पूरा गर्न नसक्दा सिफारिस खारेज गरियो।”

तर, उपाध्यक्ष बिष्टले भने सहकारीले नै नियमन विपरीत कार्य गरेको कारण सिफारिस खारेज गरिएको स्पष्ट पारिन्। “एकै व्यक्तिको नाममा ४ बोरा मल, मृतकको नाममा समेत वितरण गरिएको प्रमाण भेटिएको छ,” बिष्टले भनिन्। उनले व्यक्तिगत स्वार्थ वा दबाबको आरोप अस्वीकार गरिन्।

यसबीच, वडा नं. २ का किसानहरू भने मल अभावमा चिन्तित छन्। स्थानीय शिवनाथ चौधरीले भने, “धानमा मल हाल्ने उपयुक्त समय हो तर हामीलाई पालिकाले बेवास्ता गरिरहेको छ। अन्य वडामा मल पुगे पनि हाम्रो वडामा किन आएन?”

सहकारीका अनुसार, सावन २२ गते कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा रकम जम्मा गरिए पनि पालिकाले सिफारिस खारेज गरेपछि मल ल्याउन र वितरण गर्न सकेन।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले विवाद समाधानका लागि सर्वदलीय बैठक चलिरहेको बताउँदै किसानलाई मल वञ्चित हुन नदिने प्रतिबद्धता जनाएका छन्।