एजेन्सी । हालै हमासले सहमति जनाएको युद्धविराम प्रस्तावमा इजिप्टले इजरायलको आधिकारिक जवाफ मागिरहेको बेला प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहर कब्जा गर्ने सैन्य अभियानलाई अझ तीव्र बनाएका छन्।

बुधवार इजरायली सेनालाई निर्देशन दिँदै नेतन्याहुले हमासको अन्तिम गढ कब्जा गर्ने समयसीमा छोट्याउन आदेश दिएका छन्। उनले जगेडा सैनिक र परिवारप्रति आभार प्रकट गर्दै मंगलबार मात्र ६० हजार जगेडा सैनिकलाई ड्युटीमा बोलाइएको जानकारी दिएका थिए।

इजरायलले गाजा शहर कब्जा गरेर करिब १० लाख प्यालेस्टाइनीलाई विस्थापित गर्ने योजना अघि बढाएको बताइन्छ। नेतन्याहुको यो रणनीति हमासले अगाडि सारेको युद्धविराम प्रस्तावविपरीत रहेको भन्दै आलोचना भइरहेको छ।

यसअघि इजरायलका रणनीतिक मामिलामन्त्री रोन डर्मरले पेरिसमा कतारी अधिकारीहरूसँग वार्ता गरेका थिए। तर, इजरायलले अहिलेलाई कतार वा इजिप्टमा टोली नपठाउने निर्णय गरेको एक वरिष्ठ अधिकारीले बताएका छन्। सोमवार हमासले चरणबद्ध बन्दी रिहाइ र युद्धविरामको प्रस्ताव स्वीकार गरे पनि इजरायलले तत्काल प्रतिक्रिया नदिने निर्णय गरेको समाचारमा जनाइएको छ।

हमासले १० जना जीवित बन्दी र १८ जनाको शव इजरायललाई सुम्पेर त्यसको बदलामा सयौं प्यालेस्टाइनी कैदीको रिहाइ र ६० दिन युद्धविरामको प्रस्ताव अघि सारेको थियो। तर नेतन्याहुको गाजा शहर कब्जा गर्ने योजनाले यसलाई असफल बनाउने खतरा देखिएको छ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले अमेरिकी विशेष दूतसँगको भेटमा इजरायलले चाँडै प्रतिक्रिया दिनुपर्ने बताएका थिए। उनका अनुसार अहिलेको अवसर उपयोग गरी युद्ध अन्त्य गर्न सकिने अवस्था छ।

युद्धविराम प्रयासलाई बेवास्ता गरिएको भन्दै हमासले नेतन्याहुलाई मुख्य जिम्मेवार ठहर गरेको छ। उसले गाजा शहर आक्रमण अन्ततः असफल हुने दाबीसमेत गरेको छ।

हाल गाजामा अझै ५० जना बन्दी रहेका छन्। तीमध्ये २८ जनाको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ भने २० जना जीवित रहेको विश्वास गरिएको छ। बाँकी दुईजनाको अवस्था गम्भीर रहेको बताइन्छ।