वीरगञ्ज, भदौ ५ । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा ल्याइँदै गरेका करिब २ लाख २५ हजार रुपैयाँ बराबरका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार पोखरिया नगरपालिका–७ सतबरियाबाट व्यक्तिहरुले टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४५ कार्टुनमा राखिएका ४,५०० वटा चल्ला फालेर भागेका थिए।

नियन्त्रणमा लिइएका ती चल्लालाई नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइन प्रतिनिधि तथा जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी गण परिसरभित्र खाडल खनी नष्ट गरिएको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्ण सिंह पुजाराले यस्ता चल्ला अबैध रुपमा आयात हुँदा स्वास्थ्य सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्ने भएकाले नष्ट गरिएको जानकारी दिनुभयो।