पंचगावाँ । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि रोकथामका लागि सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन्।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, भाद्र ८ र ९ गते (आइतबार र सोमबार) सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको हो।

सूचनामा हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकामा संक्रमणको जोखिम बढी हुने भन्दै विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

महानगरपालिकाले संक्रमण नियन्त्रणका लागि सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन, सरसफाइमा ध्यान दिन तथा काँचो तरकारी राम्ररी धोएर मात्र खान सुझाव दिइएको छ।

शैक्षिक प्रशासन महाशाखाले हैजा नियन्त्रणका लागि सामूहिक सहयोग र सतर्कता अपरिहार्य रहेको भन्दै नगरवासीलाई सचेत रहन आह्वान गरेको छ।