पर्सा, ८ भदौ, – रौतहटको गौर नगरपालिका–९ स्थित मुडवलवा गेट नजिकैको सडक किनारमा शनिबार राति एक सुटकेसभित्र महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, आइतबार बिहान डिएसपी राजन कार्कीको नेतृत्वमा घटनास्थल पुगेको टोलीले डोरीले बाँधिएको अवस्थामा रहेको सुटकेस खोल्दा करिब ३० वर्षकी एक अनपहिचान महिला मृत फेला परेकी हुन्।

शवलाई मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाइएको छ। प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान गर्नका लागि नजिकैको विद्यालयमा जडान गरिएको सिसिटिभी फुटेजको समेत अध्ययन गरिरहेको जनाएको छ।

यस घटनासँगै रौतहटमा पछिल्लो एक सातामा तीनवटा शव फेला परेका छन्। केही दिन अघि मात्रै सप्तरीका उपेन्द्र भगत गौरस्थित नेपाल लजमा मृत अवस्थामा भेटिएका थिए भने गौर–५ मा सहाबुदिन मियाँको छुरा प्रहार गरी हत्या गरिएको थियो।

लगातार मृत्युका घटनाले जिल्लामा सुरक्षा सम्बन्धी चिन्ता थप बढेको छ। प्रहरीले सुटकेसमा भेटिएको शवको घटनालाई विशेष संवेदनशीलताका साथ अनुसन्धान भइरहेको जनाएको छ।