काठमाडौं, भदौ ८ – प्रेस जनमत संघले नेपाल पत्रकार महासंघलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण प्रक्रियामा देखिएको विभेद तत्काल रोक्न आग्रह गरेको छ।

आइतबार संघका अध्यक्ष अवधेश कुमार झाले महासंघ अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाउँदै आस्थाका आधारमा सदस्यता दिने वा रोक्ने प्रवृत्ति महासंघको साझा चरित्रविपरीत रहेको बताएका छन्।

ज्ञापनपत्रमा नेतृत्वसँग आस्था राख्नेहरूको सदस्यता सहजै नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारको सदस्यता खारेज वा अस्वीकृत हुने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाइएको छ। साथै, सदस्यताको शुद्धिकरण आवश्यक भए पनि त्यसलाई आधार बनाएर व्यक्तिगत रिसइवी गर्ने वा काठमाडौं र तराई–मधेशमा फरक मापदण्ड लागू गर्नु अन्यायपूर्ण हुने उल्लेख गरिएको छ।

संघले गत निर्वाचनताका शुद्धिकरणका नाममा भएको अन्याय सच्याउनुपर्ने र महासंघलाई साँच्चिकै सबै पत्रकारहरूको साझा संगठनका रूपमा कायम राख्नुपर्नेमा जोड दिएको छ। साथै, महासंघमार्फत प्राप्त हुने अवसरमा सबै पत्रकारले समान अधिकार र अपनत्वको अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्ने भनाइ पनि संघको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाललगायत पदाधिकारी तथा प्रेस जनमत संघका सहअध्यक्ष आरएन विश्वास, केन्द्रीय सदस्य जितेन्द्र खड्गालगायत पत्रकारको उपस्थिति थियो।