हरिकिशोर शर्मा, जिराभवानी (पर्सा), भदौ ९ / श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक खेमराज चौधरी रहेका थिए। उनले तीज पर्वले नेपाली समाजमा पारिवारिक एकता, संस्कृतिप्रतिको सम्मान र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रारम्भमा अतिथिहरूलाई स्वागत गर्दै तीज पर्वको महत्वबारे संक्षिप्त मन्तव्य राखिएको थियो। त्यसपछि विद्यार्थीहरूले तीज गीत, नृत्य, कविता वाचन र अभिनय प्रस्तुति प्रस्तुत गरेका थिए।

सांस्कृतिक प्रतियोगितालाई निर्णायक मण्डलले मूल्यांकन गरी उत्कृष्ट प्रतिभालाई प्रमाणपत्र तथा पुरस्कार प्रधानाध्यापक चौधरीकै हातबाट वितरण गरिएको थियो।

विद्यालय परिवारले सबै शिक्षक, शिक्षिका र कर्मचारीलाई “दर” खुवाएर पर्वलाई थप रमाइलो बनाएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकसहित स्थानीय समाजसेवीहरूको उत्साहपूर्ण उपस्थिति थियो।

कार्यक्रमको स्वागत तथा सञ्चालन विद्यालयका शिक्षक बिन्दु भूषण साहले गरेका थिए।