काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब मन्त्रिपरिषद्को निर्णय मात्र बाँकी रहेको छ ।

थपिन लागेका कार्यालयहरुमध्ये मधेश प्रदेशमा सिराहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको वलरा र पर्साको पोखरीया छन् । बागमती प्रदेशमा सिन्धुलीको दुधौली र काठमाडौंको टोखा रहनेछन् ।

त्यस्तै, कोशी प्रदेशमा ताप्लेजुङ्गको सिरिजंगा, खोटाङ्गको हलेसी, ओखलढुंगाको घोराखोरी र संखुवासभाको हेदङ्गवा छन् भने गण्डकी प्रदेशतर्फ तनहुँको भिमाद, अर्घाखाँचीको सितगंगा र चितवनको खैरहनी समावेश भएका छन् ।

कर्णाली प्रदेशमा डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी रहनेछन् । सुदूरपश्चिम प्रदेशमा बझाङ्गको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौली पर्नेछन् ।

यससँगै रुपन्देहीको गैडहवामा पनि इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

मन्त्रालयका अनुसार कार्यालय स्थापना भएपछि स्थानीय प्रशासनिक सेवा अझ सहज हुने, नागरिकलाई आवश्यक सेवामा छिटो पहुँच पुग्ने र टाढा रहेका जनताले नजिकैबाट सुविधा पाउने अपेक्षा गरिएको छ ।