पंचगावाँ । । नेपाल राष्ट्र बैंकले भारत बाहेक अन्य मुलुकबाट भारतीय रुपैयाँ (भारु) ल्याउन वा लैजान कडाइका साथ प्रतिबन्ध लगाएको छ । बैंकले जारी गरेको सूचनामा सर्वसाधारणलाई भारतीय सयको नोट बाहेक अरू कुनै पनि दरका नोट राख्न, कारोबार गर्न वा ओसारपसार गर्न नपाइने स्पष्ट गरेको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा ओसारपसार नियन्त्रण गर्न विदेशी विनिमय ऐन, २०१९, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा २३ पुस २०७५ मा प्रकाशित राजपत्रीय सूचनालाई आधार बनाइएको हो ।

यसअनुसार भारु २००, ५०० र २,००० का नोट प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने २०१६ नोभेम्बर ९ अगाडि प्रचलनमा रहेका भारु ५०० र १,००० का नोट पहिले नै अवैध घोषित भइसकेका छन् ।

बैंकका अनुसार अमेरिकी डलर ५,००० बराबरको विदेशी मुद्रा भन्सार घोषणाविना नेपाल भित्र्याउन वा बाहिर लैजान पाइनेछ । तर, सो भन्दा बढी रकम भएमा भन्सारमा घोषणा गर्न अनिवार्य गरिएको छ ।

भारतसँगको यात्रामा मात्र भारु प्रयोग मान्य हुने र अन्य मुलुकबाट भारु ल्याउन वा लैजान नपाइने भन्दै राष्ट्र बैंकले गैरकानुनी कारोबार नगर्न आम नागरिकलाई सचेत गराएको छ ।