पंचगावाँ । पर्साका विभिन्न क्षेत्रमा फैलिँदै गएको झाडापखाला र हैजाको प्रकोप नियन्त्रणका लागि जिराभवानी गाउँपालिकाले आपतकालीन कदम चालेको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले वडा नं ४ स्थित सुपौली स्वास्थ्य चौकीलाई विशेष उपचार केन्द्रका रूपमा संचालन गर्ने निर्णय गरेको हो।

स्वास्थ्य शाखा प्रमुख अजय चौधरीले उपचारका लागि आवश्यक औषधि, जनशक्ति र आधारभूत सुविधा तत्काल उपलब्ध गराउने कार्य सुरु भएको जानकारी दिएका छन्। साथै, स्वास्थ्यकर्मीलाई अति आवश्यक कारण बाहेक बिदा नदिने, महिला स्वास्थ्य स्वयंसेविकालाई सक्रिय परिचालन गर्ने र जनस्तरमा रोगसम्बन्धी सचेतनामूलक अभियान चलाउने योजना पनि अघि सारिएको छ।

बैठकमा गाउँपालिका अध्यक्ष अनोज चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडा अध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, प्रहरी, सञ्चारकर्मी तथा स्थानीय स्वास्थ्यकर्मीको उपस्थितिमा निर्णय पारित गरिएको थियो।