वीरगंज, १० भदौ। पर्साका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार पत्रकारहरूसँगको भेटघाटमा उनले राष्ट्रिय परिचयपत्र, नागरिकता, प्रतिलिपी लगायतका काममा भइरहेको ढिलासुस्ती तत्काल हटाउन निर्देशन दिइसकेका बताए। “कानूनले तोकेको प्रक्रिया पूरा गरेर आएको काममा आलटाल नगर्न कर्मचारीलाई भनिएको छ, कुनै बहानामा काम रोकिने छैन,” सुवेदीले स्पष्ट पारे।

मालपोत, नापी, यातायात लगायतका कार्यालयमा सेवा पाउन घुस तिर्नुपर्ने गुनासोबारे सञ्चारकर्मीको प्रश्नमा उनले सम्बन्धित कार्यालय प्रमुखहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे। “जसरी म प्रशासनको प्रमुख भएर यहाँको सेवा प्रवाहको जिम्मा लिन्छु, त्यसरी नै हरेक कार्यालय प्रमुख जिम्मेवार हुनुपर्छ,” उनले जोड दिए।

सुवेदीले कालोबजारी नियन्त्रण, तस्करी रोकथाम, मलखाद्य आपूर्ति समस्याको समाधान तथा चाडपर्वका बेला सामुदायिक सद्भाव कायम राख्न सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने योजना प्रस्तुत गरे।

यसअघि पर्सामा कार्यरत सिडिओ गणेश अर्याललाई गृह मन्त्रालयले पाल्पा सरुवा गरेपछि सुवेदीलाई पर्सा पठाइएको हो। अर्यालले जाँदैगर्दा वीरगंज महानगरपालिकासँग असहयोगको गुनासो गरेका थिए। तर, सुवेदीले भने स्थानीय तहका प्रमुखहरूसँग समन्वयकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे। “मैले बोलाएको बैठकमा उहाँहरू आउनुहुन्छ, उहाँहरूले बोलाउँदा म जान्छु, सहकार्यमै काम हुन्छ,” उनले भने।