पंचगावाँ ।  महान पर्व हरितालिका तीजको अवसरमा पर्साको पर्सागढी नगरपालिकामा तीज नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। बिरुवागुठी युथ क्लब बढनियारको आयोजनामा तथा पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा ९ वटा महिला समूह र विभिन्न विद्यालयले सहभागिता जनाएका थिए।

कार्यक्रम क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठक रहेका थिए। प्रमुख अतिथि पाठकले पर्सागढी बहुआयामिक संस्कार र संस्कृतिको पालिका भएकाले सबै जातजाति, भाषा, धर्म र परम्परालाई जोगाइ राख्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिए। उनले यस कार्यमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतियोगितामा पर्सागढीका पूर्व नगरप्रमुख लोकनारायण यादव, वडा नं. ३ का अध्यक्ष सुकमान तमाङ, वडा नं. ४ का अध्यक्ष शेख खुर्सेद, युवा नेता सुरज मानन्धर, कार्यपालिका सदस्य सीता लामा, स्वास्थ्य शाखा प्रमुख नारायण पौडेललगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा सर्प उद्धारकर्ता दीपक नेपाल र वरिष्ठ नागरिक महिम मण्डला पौडेललाई आयोजक समितिले विशेष सम्मान गरेको थियो।

प्रतियोगितामा एआरएस ग्रुप बढनियार प्रथम स्थान हासिल गर्दै नगद रु. १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। भूपु सैनिक बोर्डिङ स्कुल बढनियारले द्वितीय स्थानमा रहँदै रु. ६ हजार प्राप्त ग¥यो भने पर्सा रेम्बो बोर्डिङ स्कुल तृतीय हुँदै रु. ३ हजारसहित पुरस्कृत भएको आयोजकले जनाएको छ।

निर्णायक मण्डलमा स्वास्थ्य शाखा प्रमुख नारायण चापागाईं र अरविना थापा रहेका थिए। स्वागत मन्तव्य क्लबका सल्लाहकार विक्रम कार्कीले गरे भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन्।