पंचगावाँ ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका छन्।

भदौ ६ गते मलेसिया प्रस्थान गरेका सिंहले वैदेशिक रोजगारीमा रहेका मधेशका श्रमिकहरूको अवस्था प्रत्यक्ष अवलोकन गर्दै उनीहरूलाई भोग्नुपरेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग भेटघाट गरी श्रमिक अधिकार, सुरक्षित रोजगारी र नीतिगत सुधारका विषयमा छलफल गरेका थिए। सिंहले प्रदेश सरकारले श्रमिकहरूको आवाजलाई प्राथमिकताका साथ सम्बोधन गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

त्यसैगरी उनले विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाउँदै नेपाल–मलेसिया श्रम सम्बन्धका विषयमा मलेसियाली पक्षसँग समेत विचार–विमर्श गरेका थिए। सचिवालयका अनुसार भ्रमणबाट प्राप्त सुझावलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिनेछ।

मुख्यमन्त्रीको अनुपस्थितिमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्रीका रूपमा रहे। यस अवधिमा प्रदेश सरकारले हैजा नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम निरन्तर अघि बढाएको पनि सचिवालयले जनाएको छ।

स्वदेश फर्किने क्रममा गैरआवासीय मधेशी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’ लगायत पदाधिकारीले सिंहलाई मधेशको सांस्कृतिक पहिचान झल्काउने गम्छा अर्पण गरी सम्मान गरेका थिए।