मलङ्गवा — सदरमुकाम मलङ्गवाको मुख्य सडक खण्ड अझै कालोपत्रे नभई धुलाम्मे अवस्थामा रहेपछि स्थानीयवासी फेरि आन्दोलनमा उत्रिने तयारीमा छन्।

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गतको यो खण्डमा पटक–पटक आन्दोलन र दबाबपछि पनि ठेकेदार कम्पनीले काम अघि नबढाएको स्थानीयको गुनासो छ। झन्डै एक महिनाअघि युवादेखि महिलासम्मले सडक कालोपत्रे माग गर्दै चक्काजाम गरेका थिए। त्यसबेला ठेकेदारले तत्काल काम सुरु गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म खास प्रगति नभएको स्थानीयवासीको भनाइ छ।

मलङ्गवा बजार क्षेत्रमा कालोपत्रे जिम्मा लिएको हिमडुङ एण्ड ठोकर/हीरा एण्ड नमिता जे.भी.ले पटक–पटक म्याद थप्दै ढिलाइ गरेको आरोप छ। ‘सडकको धुलोले स्वास्थ्यमा असर पर्न थालेको छ, तर ठेकेदारले वाचा पूरा गरेका छैनन्,’ स्थानीय नागेन्द्र चौधरीले बताए। अर्का शिवचन्द्र चौधरीका अनुसार ठेकेदारले पटक–पटक मिति तोके पनि काम नगर्दा समस्या झन् गहिरिँदै गएको छ।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले पत्रमार्फत दबाब दिँदै आएको र जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीले समेत ताकेता गरे पनि गति नआएको योजना कार्यालयका इन्जिनियर रन्जित यादवले स्वीकारे।

स्थानीय युवा सोहन झाले भने, ‘अब त सडक कालोपत्रे नभएसम्म यातायात अवरुद्ध गर्ने गरी कठोर आन्दोलन गर्छौं।’

बजार क्षेत्रबाहेक अन्य स्थानमा कालोपत्रे सम्पन्न भए पनि मुख्य बजारको सडक अलपत्र हुँदा दैनिक जीवनयापन कठिन बन्दै गएको छ।