काठमाडौं — यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीसाधनलाई तत्काल कारबाही वा जरिवाना गरिने भन्ने भ्रम निराधार भएको स्पष्ट गरेको छ।

विभागका महानिर्देशक राजिब पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा हाललाई कुनै किसिमको दण्ड वा जरिवाना नहुने उल्लेख गरिएको छ। तर, सबै सवारीधनीलाई आफ्नो सुविधाअनुसार नजिकैको यातायात कार्यालयमा पुगेर नम्बर प्लेट जडान गर्न आग्रह गरिएको छ।

विभागले सरकारको ‘डिजिटल नेपाल’ अवधारणाअनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीलाई डिजिटलाइजेसनको महत्वपूर्ण भागका रूपमा अघि बढाइएको जनाएको छ।

यता, सामाजिक सञ्जालमा नम्बर प्लेटमा देवनागरी लिपी प्रयोग गर्नुपर्ने माग बढे पनि विभागले सर्वोच्च अदालतको २०७६ मंसिर २७ गतेको फैसलालाई उद्धृत गर्दै अंग्रेजी लिपी प्रयोग गर्न कुनै संवैधानिक वा कानूनी समस्या नरहेको बताएको छ। साथै, २०८१ असोज ६ गते भएको सम्झौताअनुसार पनि अंग्रेजी लिपीमै नम्बर प्लेट जारी गर्ने निर्णय कायम गरिएको विभागले स्पष्ट पारेको छ।  यातायात कार्यलयको प्रेस बिज्ञप्ति