काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) र अखिल क्रान्तिकारीबीच शुल्कसम्बन्धी विवादलाई लिएर चार बुँदे सहमति भएको छ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चार विभाग — अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य, र द्वन्द्व, शान्ति तथा विकास अध्ययन — को शुल्क घटाउने सहमति गरिएको हो।

सहमति अनुसार अबदेखि यी विभागहरूको शुल्क एक लाख १० हजार रुपैयाँ कायम गरिनेछ र यो निर्णय तत्कालै लागू भई हाल अध्ययनरत दोस्रो सेमेस्टरका विद्यार्थीमै लागू हुनेछ।

त्यसैगरी त्रिवि नियमानुसार उपलब्ध छात्रवृत्तिलाई कार्यान्वयन गर्ने, साथै विभागहरूमा आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै जाने पनि सहमति पत्रमा उल्लेख गरिएको छ।

३४ दिनदेखि शुल्क घटाउने माग गर्दै आन्दोलनमा रहेको अखिल क्रान्तिकारीले यस सहमतिपछि आफ्ना सम्पूर्ण कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ।