वीरगंज, भदौ १० । समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार वीरगंजमा प्रभातफेरी आयोजना गरेको छ। वीरगंजको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभामा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरुको पक्षमा पार्टी सधैं रहने उल्लेख गर्दै प्रेस स्वतन्त्रता सुरक्षित गर्न विद्यमान मिडियाविरोधी कानुन संशोधन आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै सरकारले ल्याउन लागेको प्रेसविरोधी विधेयक स्वीकार्य नहुने प्रष्ट पारे। उनले मिडियामैत्री राज्य निर्माणका लागि पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए।

त्यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारले श्रमजीवी पत्रकारहरूको हकहित र क्षमतावृद्धिका लागि महासंघ निरन्तर सक्रिय रहने बताए। उनले पत्रकारिता क्षेत्रमा देखिएका विकृति–विसंगति निर्मूल गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

अन्य वक्ताहरूले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमति जनाउँदै सूचना विभाग र प्रशासनबाट काम अवरुद्ध हुँदा पत्रकारहरू मारमा परेको गुनासो गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केशी लामिछाने, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगंज, मधेसदृष्टि तथा टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजीवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेललगायतले शुभकामना मन्तव्य दिएका थिए।