वीरगञ्ज, ११ भदौ। विघ्नहर्ता भगवान् गणेशको आराधना गर्ने पावन पर्व गणेश चतुर्थी महोत्सव वीरगञ्ज–१० घडिअर्वास्थित रामजानकी मन्दिर प्रांगणमा बुधवारदेखि सुरु भएको छ।

आकर्षक टेण्ट–पण्डालमा भगवान् गणेशको मूर्ति स्थापना गरी विशेष पूजापाठसँगै महोत्सवको शुभारम्भ गरिएको हो। पूजास्थलमा १५१ किलोको लड्डु अर्पण गरिएको छ।

महोत्सवको आयोजना जय गणेश झन्कार मण्डल परिवार र जय गणेश पूजा समितिले संयुक्त रूपमा गरेका छन्। पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा बेलुकी सन्ध्या आरती, महाप्रसाद वितरण, अखण्ड ज्योति प्रज्वलन, भजन–कीर्तन तथा धार्मिक–सांस्कृतिक प्रस्तुती रहने बताइएको छ।

समितिका अध्यक्ष मदन प्रसाद कलवारका अनुसार, सांस्कृतिक प्रस्तुतिका लागि भारतका मुजफरपुर, मोतिहारी र चकियाबाट कलाकारहरू निमन्त्रणा गरिएको छ। पहिलो दिन बुधवार बेलुकी भारतका विधायक तथा चर्चित गायक विनय बिहारीको विशेष प्रस्तुति रहने कार्यक्रम छ। अन्य दिनहरूमा पनि विभिन्न गायक कलाकारले लोकगीत तथा भजन प्रस्तुत गर्नेछन्।

आजको विशेष पूजा तथा आरती कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि उपस्थित हुने जनाइएको छ।

स्थानीय वडाध्यक्ष सुशील साह कानुका अनुसार, यस वर्ष पनि विगतका झैं महोत्सव भव्य रूपमा आयोजना गरिएको हो। धार्मिक विश्वासअनुसार भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको मानिन्छ, र यस अवसरमा देशभर विशेष पूजा–आराधना गरिन्छ।