रौतहट, ११ भदौ । रौतहट माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबी साहको हत्या आरोपमा पक्राउ परेका २७ वर्षीय लक्ष्मण पासवान उनका पूर्वप्रेमी भएको आशंका प्रहरीले गरेको छ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवलबा सडकनजिकै सुटकेसभित्र रुबीको शव फेला परेको थियो। रुबी सात वर्षअघि भारत बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। उनका एक छोरा छन्। छोरालाई पढाउन उनी गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी थिइन् भने छोराको हेरचाह रुबीकी आमा सुनिच्छा देवीले गर्दै आएकी थिइन्।

रौतहट प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, मृतक साह तीन वर्षदेखि गौरमा बस्दै आएकी थिइन्। बुधबार बिहान जलेको अवस्थामा फेला परेका लक्ष्मण पासवान नै हत्या प्रकरणका मुख्य आरोपी रहेको कार्कीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच पहिले प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।

पासवानले आफ्नो शरीरमा आगो लगाउनुअघि भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन्। साथै, स्कुल पढ्दादेखि प्रेम सम्बन्ध रहेको र पछि अदालतमा गएर विवाहसमेत गरेको दाबी गरेका छन्।

डीएसपी कार्कीका अनुसार, हत्या गरेर सुटकेशमा शव राखी पासवान अटो रिक्सामा निस्किएका थिए। तर बाटोमा रिक्सा बिग्रिएपछि सुटकेश त्यहीँ छोडेर भागेका थिए। उक्त सुटकेश पासवानले मलेसियाबाट ल्याएको अनुसन्धानमा खुलेको छ।

हाल पासवान गम्भीर रूपमा जलेको अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन्। वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका उनी अगस्टको पहिलो सातामा नेपाल फर्किएका थिए।

प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।