पोखरिया, ११ भदौ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, पोखरिया नगरपालिका कमिटीले बुधबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पोखरिया–३ स्थित श्री जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय परिसरमा आयोजित गरिएको हो।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव इन्जिनियर मोबिन आलम प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नगर कमिटी अध्यक्ष दिपु पटेलले अध्यक्षता गरेका थिए।

संघका पर्सा जिल्ला अध्यक्ष सुभाष साहका अनुसार कार्यक्रममा विभिन्न प्रजातिका करिब २ सय विरुवा रोपिएको छ। कार्यक्रममा नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरी, उपप्रमुख रुबि ठाकुरलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेतागण, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वक्ताहरूले वृक्षारोपण वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान हुने भन्दै युवापुस्तालाई सामाजिक र सामुदायिक कार्यमा सक्रिय बन्न आह्वान गरेका थिए।