काठमाडौँ, ११ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै सरकारले रु १४ अर्बभन्दा बढी ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार साउन मसान्तसम्म कुल सार्वजनिक ऋण रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ।

आर्थिक वर्ष सुरु हुँदा ऋणको मात्रा रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा साउन महिनामा मात्रै रु १४ अर्ब २ करोड वृद्धि भएको हो। हालको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ९४ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।

प्रतिवेदनअनुसार कुल ऋणमध्ये ५२ दशमलव २६ प्रतिशत अर्थात् रु १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख वैदेशिक ऋण हो भने बाँकी ४७ दशमलव ७४ प्रतिशत आन्तरिक ऋण हो।

चालु आवका लागि सरकारले रु पाँच खर्ब ९५ अर्ब ऋण संकलन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्म रु ४४ अर्ब ५७ करोड बराबर ऋण उठाइसकेको छ, जसले वार्षिक लक्ष्यको ७ दशमलव ४८ प्रतिशत पुरा गरेको छ।

यसैगरी, आन्तरिक ऋण संकलनतर्फ पहिलो महिनामै रु ४० अर्ब उठाइएको छ, जुन लक्ष्यको ११ दशमलव शून्य पाँच प्रतिशत हो। बाह्य ऋण संकलनतर्फ भने रु चार अर्ब ५७ करोड ४८ लाख मात्र संकलन भएको छ, जुन लक्ष्यको १ दशमलव ९६ प्रतिशत बराबर हो।

यता, चालु आवमा ऋणको साँवा तथा ब्याज तिर्नका लागि विनियोजित रु चार खर्ब ११ अर्ब एक करोड बजेटमध्ये साउन मसान्तसम्म रु ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको कार्यालयले जनाएको छ।