बलिराम शुक्ला, पर्सागढी (पर्सा) । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१२ बिन्दबास्नी कोइलाबार साझेदारी वन क्षेत्रबाट अवैध रूपमा निकालिएको सालको गोलिया र साइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुर, बेलवाबाट खटिएको टोलीले वनक्षेत्रको बडनिहार क्षेत्रमा चार थान साइकलमा लोड गरिएको अवस्थामा सालका गोलिया बरामद गरेको हो। गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीले गरेका थिए।

घटनापछि प्रहरीले सबैया सबडिभिजन वन कार्यालय र मिलनचोक प्रहरीसँग समन्वय गरी बरामद सामग्री नियन्त्रणमा लिएको र त्यसपछि सबडिभिजन वन कार्यालय, सबैया बुझाएको जनाएको छ।

सबडिभिजन वन कार्यालय सवैयाका रेन्जर भूपाल रोकायका अनुसार बरामद गरिएको काठ ३५ क्युफिट रहेको छ, जसको अनुमानित बजार मूल्य करिब एक लाख रुपैयाँ बराबरको छ।

स्थानीय बासिन्दाहरूका अनुसार चाडपर्व नजिकिँदै जाँदा बिन्दबास्नी कोइलाबार र सबैया साझेदारी वन क्षेत्रमा काठ तस्करी बढेको छ। यसले वन संरक्षणमा गम्भीर चुनौती खडा गरेको उनीहरूको भनाइ छ।

वन तथा सुरक्षासम्बन्धी निकायहरूले संयुक्त गस्ती र निगरानी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।