काठमाडौं, भदौ १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

बिहीबार आन्दोलनरत किसानप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गरे। उनले भने, “हेलिकप्टरको तेल मात्र खर्च गर्ने हो कि समस्या पनि हल गर्ने हो ?”

केही महिनाअघि प्रधानमन्त्री ओली मधेसमा खडेरी अवलोकनका लागि हेलिकप्टर प्रयोग गरेर पुगेका थिए। तर, अवलोकनपछि मधेसलाई मात्र सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको यादवको आरोप छ।

उनले किसानका समस्या समाधानका नाममा अनुदान र सहयोग आए पनि त्यसको सदुपयोग नभएको दाबी गरे। “किसानका नाममा आएका सहयोग र अनुदानको सही सदुपयोग भएको भए किसानका समस्या समाधान हुन्थ्यो, तर दुरुपयोगका कारण अहिले किसानको अवस्था झन् दयनीय बनेको छ,” उनले टिप्पणी गरे।

सरकारले मधेसका किसानलाई निरन्तर उपेक्षा गर्दै आएको आरोप लगाउँदै यादवले राणाकालदेखि नै मधेसका किसानलाई पेल्ने प्रवृत्ति देखिएको बताए।

किसानको आन्दोलनप्रति न्यायोचित समाधान आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आन्दोलनरत किसानसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरे।